धनगढी, २४ असार/बाजुराको बुढिगंगा नगरपालिकाको दोस्रो पटक भएको मतदानको गणनाको लागि सर्बपक्षिय बैठक अहिले सम्पन्न भएको छ । अब केही बेरमा मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिएका छन् । सर्बदलिय बैठकबाट सबै मतगणनाका बिषयमा सबै सहमति भैसकेको समेत उनले जानकारी दिए ।
दोस्रो पटकका लागि बाजुराको बुढीङ्गाको मतदान असार २३ गते समपन्न भएको छ । बैशाख ३० गतेको मतदान बिवाद भएर स्थगित भएको थियो । बिहान १० बजेतिर सर्वदलीय बैठक बसेको र ११ बजेबाट मतगणना सुरु गरिने बाजुराका जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।सबै मतदान केन्द्रबाट नगरपालिको सदरमुकाम मतपेटीका संकलन राती १० बजे सम्म भएको निर्वाचन अधिकृत कठायतले जानकारी दिए । संकलन भएका मतपेटीका वडा नम्बर ५को भानुदय मावि कुलदेवमाण्डौको सभा हलमा कडा सुरक्षका घेरामा राखिएको छ ।
बुढीगंगामा वैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि बिहीबार पुनः मतदान भएको हो । बिहीबार भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । वैशाख ३० गते भएको मतदानमा भने ७५.५८ प्रतिशत मतदान भएको थियो । नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उमेदवार छन् । कांग्रेसका उमेदवार खातीलाई गठबन्धनको समर्थन छ ।