धनगढी २१ असार/१६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय अछामले पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।
पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।
मुद्दा दायर गरिएकामध्ये पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई मंगलबार नै अदालत पेश गरेको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सहायक जिल्ला न्यायाधिवक्ता ढुङ्गानाले आरोपलाई पुष्टि गर्ने प्रमाण नपुगेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री समेत रहेकी मेयर चलाउनेसहितका तीन जनाविरुद्धको मुद्दा अघि नबढाउने निर्णय गरेका हुन् ।
सुरुवातदेखि नै पीडित पक्षलाई कानूनी सहायता गर्दै आएका अधिवक्ता कृष्णप्रसाद ढुङ्गाना भने सरकारी वकिल कौशल ढुङ्गानाले फौजदारी अभियोगमा आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै कानूनी उपचारमा जाने बताए ।‘कुनै पनि आरोपी दोषी हो कि निर्दोष भनेर छुट्याउने काम सरकारी वकिलको होइन । यो अधिकार उनलाई छैन । फौजदारी अपराधमा व्यक्ति घटनास्थलमै हुनुपर्छ भन्ने पनि हुँदैन । त्यहाँ उपस्थित नभए पनि विभिन्न माध्यमबाट भूमिका खेलेको हुनसक्छ’, ढुङ्गानाले अनलाइनखबरसँग भने, ‘यो घटनामा एकल निर्णय गरेर सरकारी वकिलले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले अधिकारको दुरुपयोग गरेका छन् । हामी परामर्श गरेर उहाँविरुद्ध कानूनी उपचारमा जान्छौं ।’
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । शाहीको हत्या गरिएको भन्दै पीडित पक्षले मेयर चलाउनेसहितका १३ जनाव्रिद्ध कर्तव्य ज्यान मुद्दा दिएको थियो । शाही मृत भेटिएको दिनदेखि फरार चलाउनेलाई प्रहरीले शनिबार सरकारी वकिल कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको थियो ।