धनगढी, ३० जेठ/कैलालीको जिल्ला समन्वय समितिको निर्वाचन रोचन बन्न लागेको छ । दुई गठबन्धन बिच सहमति अनुसार बराबर देखिएको छ । कैलालीमा जिल्ला समन्वय समितिका लागि दुई प्यानल गठबन्धनमा निर्माचन लडिरहेका छन् ।
जसमा सत्तागठबन्धनको १२ जना छन् भने एमाले, नागरिक उन्मुक्ती पार्टी सहितका अन्य दलको गठबन्धनको मतभार पनि १२ रहेको छ । एक जना धनगढी उपमहानगरपालिकामा स्वतन्त्र मेयरमा जितेका गोपाल हमाल रहेका छन् । हमाल जिसस चुनावमा तटस्थ बस्ने बताइएको छ । सत्तागठबन्धनको मतभार १३ भएपनि मोहन्याल गाँउपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भ्रष्ट्राचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या १२मा झरेको छ । अब जिल्ला समन्यव समितिको मतभार २५मा झरेको छ । यहाँ १३ पालिकाका २६ जना मतदाता हुन् ।
अध्यक्ष उपाध्यायको मतदानसम्बन्धी निर्णय सर्वोच्च अदालतको भर हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बताउँछन् । ‘अहिलेसम्म उहाँले मतदान गर्न पाउनु हुन्न आज १ बजे पेसी छ । फैसलाले थप कुरा निर्धारण गर्छ ।’ उपाध्यायले मतदान गर्न नपाए कैलालीमा २५ जना मतदाता रहन्छन् । २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । यहाँ कांग्रेसले ८, माओवादीले मोहन्याल बाहके ३ र नेकपा एकीकृत समाजवादी १ पालिकामा जित हासिल गरेका थिए ।
अर्को तर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा तटस्थ बस्ने बताइएको छ । दलहरूबाट अन्तर्घात नभए, मत बदर नभए र हमाल उम्मेदवार स्वतन्त्र बस्ने अवस्था आए कैलालीमा जिससको निर्वाचन बराबर मात हुने देखिएको छ । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् । कैलाली जिसस नेतृत्वका लागि कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि राजसमझलाई कारबाही गरिएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि उनी गठबन्धनलाई मत दिन तयार भएका छन् । आफूमाथिको कारबाही फुकुवा नभएसम्म आफूले गठबन्धनका उम्मेदवारलाई मत दिन नसक्ने बताउँदै आएका थिए । ‘मेरो कारबाही फुकुवा भएको छ’ उनले भने ‘सभापति ज्यूले तपाईं नै कांग्रेसको आधिकारिक उम्मेदवार हो भन्नु भयो । अब म गठबन्धनका उम्मेदवारहरूलाई मत दिन तयार भएको छु ।’
देउवाका स्वकीय सचिव भानु देउवा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । यो क्रममा देउवाले राजसमझलाई कांग्रेसको उम्मेदवार भएको बताए । कैलाली जिससको निर्वाचन रोचक हुने देखिएको छ ।