चितवन, २२ जेठ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु गएको छ।
चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कँदै गर्दा जङ्गली जनावरको आक्रमणबाट विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ। बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए।
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो। त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।