धनगढी, १९ जेठ/कञ्चनपुरको नेपाली भुमीमा भारतिय पक्षले किसानहरुलाई खनजोत गर्न अबरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाटमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न भारतीय सुरक्षाकर्मीले अवरोध सृजना गरेका छन् ।
आफ्नो नाममा दर्तावाल जमिनमा खेतीपातीका लागि खनजोत गर्न गएका नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मीले डरत्रास देखाउँदै धम्की दिएको बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीको जानकारी दिए । बुधबार मात्रै पनि ट्याक्टर लिएर खेत जोत्न पुगेका बेलौरी नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को एक टोलीले खेतमै आएर जोत्न रोक लगाई त्यहाँबाट फर्काइदिएको छ ।
अन्य सर्वसाधारण किसानहरूलाई समेत भारतीय सुरक्षाकर्मीहरूले बेलाबेलामा डरत्रास देखाउने गरेको स्थानीयको भनाइ छ । भारतीय एसएसबीले गुगलमा नक्सा हेरी यो जमिन त भारतमा पर्छ भनेर अवरोध सृजना गर्ने गरेको त्यहाका किसानहरुको भनाई छ ।
भारतीय सुरक्षाकर्मीले भारतमा पर्ने भन्दै दाबी गर्ने गरेको उक्त जमिनको लालपुर्जा आफुसँग रहेको र दशकौंदेखि आफैंले कर समेत तिर्दै आएको हुँदा नेपाली लालपुर्जा भएको जमिन भारतमा कसरी पर्यो भन्दै जग्गाधनी नेपाली किसानहरूले प्रश्न गर्ने गरेको वडा अध्यक्ष चौधरीको जानकारीले बताएका छन् । कञ्चनपुर जिल्लाका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका विभिन्न भूभागमा भारतीय पक्षले दशकौंदेखि नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।