काठमाडौँ, १७ जेठ । रिटायर्ड डीआईजीको मुद्दा पनि साथै राखिएको कारण आईजीपी विवादको मुद्दामा सुनुवाइ हुन सकेन।डीआईजीको मुद्दामै म्याद तामेली गर्न बाँकी रहेकाले सुनुवाइ हुन नसकेको हो।
सर्वोच्चले एआईजी विश्वराज पोखरेलको रिट र तीन जना डीआईजीको रिट सँगै राखेर हेर्ने गरी पेसी तोकिएको थियो।यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो।
आजबाट अन्तिम सुनुवाइ सुरु हुने गरी गोलाप्रथाबाट पेसी न्यायाधीशद्वयको इजलासमा परेको थियो।
गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका हुन्। आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ।
आईजीपी विवाद : न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा
यसअघि गत २२ वैशाखमा न्यायाधीश सुष्मातला माथेमाको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो।
पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो।
यसअघि सिंहलाई एआईजीमा बढुवा गर्दाको रिट पनि सँगै राखिएको छ। त्यतिबेला तीन डीआईजीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै रिट दायर गरेका थिए।
एआईजीमा बढुवा हुनु पर्ने माग गर्ने तीनै जना डीआईजी अवकाश भइसकेका छन्। डीआईहरु ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीले डीआईजी बढुवाविरुद्ध रिट दायर गरेका थिए।
सरकारले बसन्त कुमारपन्त, धिरजप्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गरेपछि अन्य तीन डीआईजी सर्वोच्च पुगेका थिए। तर उनीहरु वैशाख १९ गते नै ३० वर्षे सेवा अवधिका कारण अवकाश भइसकेका छन्। एआईजी बनेका पन्त पनि सोही मितिमा अवकाश भइसकेका छन्।