कञ्चनपुर,१० जेठ /कञ्चनपुरको पुनर्वास नगरपालिकाका नव निर्वाचित नगर प्रमुख नयाँ तोय प्रसाद शर्माले एक वर्ष भित्र सुकुम्वासीलाई पुर्जा र शव वाहन खरिद गर्ने पहिलो निर्णय गरेका छन्।
मङ्गलवार शपथ ग्रहण लगत्तै पदभार सम्हालेका नगर प्रमुख शर्माले एक वर्ष भित्र भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यस्थित वसोवासीको समस्या समाधान गर्न बाकी रहेका सम्पूर्ण काम कारवाही यसै आर्थिक वर्षमा अगाडी बढाई समाधान गर्ने निर्णय गरेका छन् । आगामी आर्थिक वर्ष भित्र सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्दै आएका पुनर्वासका नागरिकहरूलाई लालपुर्जा वितरणको व्यवस्था मिलाउने निर्णय गरेका हुन् ।
पुनर्वास नगरमा शव वाहन नभएकाले नगरवासीले सास्ती खेप्दै आएकाले आगामी आर्थिक वर्ष भित्र खरिद गर्ने निर्णय गरेको नगर प्रमुख शर्माले बताए । नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतको फराकिलो मतान्तरले हराउँदै विजयी भएका हुन् । शर्माले १०,००६ मत प्राप्त गरेका छन् भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए । पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकोमा २३,६०५ मत खसेको थियो भने ६२२ मत बदर भएको हो ।