काबुल । अफगानिस्तानको तालिबान सरकारले महिला अफगान टेलिभिजन प्रस्तोताहरूलाई अनएयर हुँदा आफ्नो अनुहार छोप्न आदेश दिएको छ । एकजना धार्मिक प्रहरी प्रवक्ताले बुधबार सञ्चार माध्यमहरूलाई सो आदेशबारे जानकारी दिइएको बीबीसी पास्तेलाई बताएका छन् ।मुलुकका सम्पूर्ण महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन वा सजाय भोग्न तयार रहन आदेश दिएको दुई सातापछि कट्टरपन्थी इस्लामिक तालिवानले यो पछिल्लो कदम चालेको हो ।
अफगान महिलाहरूमाथि धमाधम बन्देजहरू थपिने क्रम जारी छ । आफ्ना कुनै पुरुष नातेदारको साथ विना उनीहरूले कतै बाहिर हिँडडुल गर्न पाइँदैन र किशोरीहरूका लागि माध्यमिक विद्यालयहरू बन्द गरिएका छन् ।पछिल्लो आदेशको ट्विटरमा व्यापक आलोचना भइरहेको छ । अधिकांशले यसलाई तालिवानको अतिवाद प्रबर्द्धन गर्ने अर्को कदमको संज्ञा दिएका छन् ।
एकजना महिला अधिकारवादी अभियन्ताले यस्तो ट्विट गरेका छन्, “विश्वले मानिसहरूलाई कोभिडबाट बच्नका लागि मास्क लगाउन सल्लाह दिन्छ । तर तालिवानले महिला पत्रकारहरूका अनुहार छोप्नका लागि मास्क लगाउने नियम बनाउँछ । तालिवानका लागि महिलाहरू रोग हुन् । निजी न्युज च्यानल सम्सादले आफ्नो टीभी समाचार प्रस्तोता महिलाले मास्क लगाएको तस्विर सार्वजनिक गरेको छ । अन्य त्यस्तै तस्विरहरू सामाजिक सञ्जालमा पनि धमाधम सेयर भइरहेका छन् ।