पोखरा, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको बताएका छन्।
पोखरामा आयोजित चुनावी सभालाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। यो गठबन्धन दायाँबायाँ भए देश पुनस् दुर्घटनामा जानसक्छु, उनले भने, गणतन्त्र, संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा हुन्छ।
प्रचण्डले यो गठबन्धनले संविधानको रक्षा गर्दै गठबन्धनका सबै दलहरुलाई फाइदा गरेको बताएका छन्।
‘एकातिर राजनीतिक मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भएकाले गठबन्धन हुने हो ’,उनले भनेका छन् ,‘ ५० प्रतिशत कांग्रेलाई फाइदा, माओवादीलाई पनि फाइदा ,एकीकृत समाजवादीलाई पनि फाइदा, जनमोर्चालाई पनि फाइदा, जनता समाजवादीलाई पनि फाइदा छ।’
गठबन्धनबीच महानगर र उपमहानगर बाँडफाँट गर्नु सजिलो नभएको बताउँदै उनले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको पनि जिकिर गरे।
हामी शान्ति, अग्रमन र प्रगतिका पक्षधर र प्रतिगामीको पक्षधरबीच लडाइँ चलिरहेको छु, उनले भने,‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाटमात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ। एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध यो गठबन्धन जन्मिएको हो। यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ।