धनगढी, २२ चैत/आसन्न स्थानीय निर्वाचनमा पाच दलीय गठबन्धनले सहमति गरेको चुनावी तालमेलबारे निर्णय गर्न नेपाली काँग्रेस कैलालीले वडागत तहबाट सुझावसहितको प्रतिवेदन संकलन गरेको छ ।
कैलाली कांग्रेसले गत १३ गतेदेखि २० गतेसम्म घर दैलो अभियान अन्तर्गत खटाएका प्रतिनिधिहरूले वडामा छलफल गरी मंगलबार पार्टीलाई प्रतिवेदन पेस गरेका छन् । कांग्रेस कैलालीका सचिव केशवराज मिश्रका अनुसार वडामा खटिएका प्रतिनिधिहरूसंग मंगलबार छलफल सहित प्रतिवेदनहरू संकलन गरिएको छ ।
‘वडा वडामा खटिएका प्रतिनिधीहरूले आफनो लिखित प्रतिवेदन पार्टी कार्यालयमा पेश गरेका छन्’ सचिव मिश्रले भने– ती प्रतिवेदनहरूको अध्ययन गर्नका लागि जिल्ला सचिव नृप बहादुर सुनारको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिले छलफल गरि आगामी निर्वाचनमा तालमेल गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ ।
मंगलबार पार्टी कार्यालयमा भएको छलफलमा वडा तहमा खटिएका अधिकाँस प्रतिनिधीहरूले चुनावमा तालमेल नगर्ने सहितको सुझाव पेस गरेको बताइएको छ । वडामा खटिएका प्रतिनिधीहरूले आआफ्ना प्रतिवेदन पढेर बुझाएका थिए । उनीहरूले प्रतिवेदन पेस गर्दा चुनावी तालमेल गर्ने वा नगर्नेबारे केही उल्लेख नगरे पनि प्रतिवेदन बुझाएर फर्किदा भने तालमेल गर्न नहुने बताएका थिए ।
घोडाघोडी नगरपालिकामा खटिएका प्रतिनिधि अमरबहादुर खक्रीले चुनावी तालमेल गर्न नहुने धारणा व्यत्त गरे । उनले वडादेखि नै नेपाली काँग्रेस बलियो भएका क्षेत्रमा चुनावी तालमेल गर्न नहुने बताए । तर, काँग्रेसका अधिकांस वडा सभापति, क्षेत्रीय र जिल्ला सभापति भने चुनावी तालमेलको पक्षमा रहेका छन्। ‘काँग्रेसलाई जित्ने आधार पेश गर्नुपर्छ । आधार पनि पेश गर्न नसक्ने अनि तालमेल पनि गर्न नहुने भन्ने हुन्छ ?’ कैलाली क्षेत्र नम्बर ५ का सभापति भीमबहादुर पडालले भने । कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्ट शुरुदेखि नै चुनावी गठबन्धनको पक्षमा रहेका छन् ।उनले भने– केन्द्रमा गठबन्धनको सरकार छ । हाम्रो पार्टीका केन्द्रीय सभापति पनि गठबन्धनका आधारमा नै प्रधानमन्त्री हुनुभएको छ । त्यसैले गठबन्धन हुन्छ, हुन्छ, हुन्छ । तर स्थानीय आवश्यकताको आधारमा हुन्छ ।
धनगढी उपमहानगरपालिकासहित केही स्थानीय तहले गठबन्धन गर्न सुझाव दिए पनि अधिकाँस स्थानीय तहमा गठबन्धन नगर्न सुझाव आएको बताइएको छ । यसैबीच, बुधबार पाँच दलीय गठबन्धनका घटकहरूबीच चुनावी तालमेलबारे छलफल हुने जिल्ला उपसभापति भीमबहादुर वडुवालले बताए ।