काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल हुने कांग्रेस नेताले बताएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक गएको शुक्रबारबाट सुरु भएको हो। आगामी निर्वाचनमा गठबन्धन दलहरुसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसमा मतभेद छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनमा सहभागी दलहरुबीच तालमेल गरेर चुनावमा जानुपर्ने पक्षमा छन् भने नेता शेखर कोइराला खेमा तालमेलको विपक्षमा छन्।
कांग्रेस केन्द्रीय कार्य समिति बैठकले चुनावी तालमेलबारे पनि निर्णय गर्ने सम्भावना छ।