धनगढी, १० चैत/नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले आफू फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने बताइन् ।
नेपाल प्रेस युनियन, कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ देउवाले कैलाली निर्वाचन क्षेत्र ५ का जनतासँग म भिजिसकेकी छु त्यसैले यहीँ चुनाव लड्ने बताईन् ।
‘पहिले पनि बर्दिया लगायतका ठाउँमा लड्ने प्रचार गरिएको थियो तर मैले धनगढी नै छानेँ ।’ ‘बर्दियाबाट निर्वाचन लड्ने भन्ने पाँच वर्षअघि नै छोडिसकेँ,’ उनले आफूलाई अहिले कोहलपुर, सर्लाही लगायतका क्षेत्रबाट चुनाव लड्न साथीहरूले बोलाइरहेको भए पनि पार्टीले टिकट दिएमा कैलाली–५ बाटै लड्ने बताइन् ।
एक प्रश्नको जवाफमा उहाँले ०७४ को चुनावमा तीन चार पार्टी मिलेर मलाई हराइएको हो तर पनि मैलै राम्रो (२२ हजार ३२२) मत पाएँ । उनले आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु । आगामी निर्वाचनहरूमा काँग्रेस सहितका दलहरू बीच चुनावी गठबन्धन हुने बताएकी छिन् । उनले काँग्रेसको लाइन नै चुनावी गठबन्धन भएको बताइन् ।
‘सबै मिलेर जाँदा नै मुलुकलाई फाइदा हुँदो रहेछ भन्ने हामीलाई पछिल्लो निर्वाचनको परिणामले पनि सिकाएको छ,’ नेतृ देउवाले भनिन्, ‘स्थिर सरकार चलाउन होस्, अथवा एमसिसी पास गर्दा होस्, गठबन्धन आवश्यक छ भन्ने पुष्टि भइसकेको छ ।’
काँग्रेसमा गुट, उपगुट नभएको बताउँदै उनले पार्टीको वडादेखि नै भएका आन्तरिक चुनावले काँग्रेस झन् बलियो भएको बताए । नेतृ देउवाले ३६४ दिन काँग्रेस हुनेहरु भोट हाल्ने दिन ३६५ औं दिनमा पनि काँग्रेसलाई भोट हाल्न गरिन् । काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दावी गर्दे नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले् काँग्रेसलाई नै भोट दिनपर्ने बताईन् । स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन कार्यकर्तालाई आग्रह गर्दे संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ चुनाव हुन्न भन्ने हल्लाका पछाडि नलाग्न आग्रह गरिनन् ।
अवको स्थानीय चुनाव संविधान जारी भएपछि बनेका स्थानीय सरकारको मूल्याङ्कन गर्ने चुनाव पनि भएको बताइएन् । नेतृ देउवाले अहिले पार्टीले देशभरको खटाएका प्रतिनिधिको समेत मूल्याङ्कनमा काँग्रेसले स्थानीय तहका उम्मेदवार तय गर्ने बताईन् ।
काँग्रेसका शीर्ष नेतृत्व पङ्क्तिका कतिपय प्रभावशाली नेताहरूले चुनावी गठबन्धन आवश्यक नरहेको बताइरहेको सन्दर्भमा पत्रकारहरूको जिज्ञासामा उनले भनिन्, ‘आमजनतामा बहसका लागि नेताहरूले आआफ्नो धारणा राख्नसक्नुहुन्छ, तर अन्त्यमा सबै नेताहरू चुनावी गठबन्धनको पक्षमा आउनु हुने छ ।’उनले स्थानीय आवश्यकता अनुसार नै चुनावी तालमेल हुने बताइन् ।
अहिले एमाले लगायतका दलहरूमा विभाजन आएको बेला काङ्ग्रेसले एक्लै चुनाव लड्न किन डराएको ? सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले भनिन्, ‘अहिले पनि मुलुकको राजनीतिक अवस्था धमिलो छ । हामी मात्रै होइनौँ, अरू थुप्रै दल छन् । मिलेर जाँदा नै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो अनुभव हो ।’
उनले पार्टीभित्र अहिले कुनै किसिमको समस्या नरहेको दाबी गरिन् । ‘पार्टीको आन्तरिक निर्वाचनमा गुटउपगुट हुनु स्वाभाविक हो,’ उनले भनिन्, ‘तर अधिवेशन सम्पन्न भइसकेपछि अब हामी सबै एकजुट भइसकेका छौँ ।’