जोरायल २९ फागुन/नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने दाबी गरेका छन् । उनले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताए ।
नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता बलायरले नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पारे । माओबादी र समाजबादीले एका तर्फ गठबन्धन भन्ने अर्का तिर कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए । ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने, यो कस्तो कठबन्धन हो ?,‘उनले प्रश्न गरे ।’
सुदूरपश्चिममा कांग्रेस एल्लै बहुमतले बिजयी हुने दावी गर्दै समापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हारबेहोर्नु परेको बताए । उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउँन नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता र जनताहरुले कुनै पनि हालतका आफ्नो चुनाव चिन्ह ‘रुख’ बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ । उनले भने,‘सुदूपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चुनाव चिन्ह बाहेक अन्त भोट हाल्दैन ।’ सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेस बाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले बिजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे ।
नेपाली कांग्रेस डोटीले जिल्लाका ९ वटै पालिकाहरुमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने जनाएको छ । आइतबार जोरायल गाउँपालिकाबाट सुरु गरिएको अभियान ३० गते बडीकेदारमा सञ्चालन गरिने छ ।