काठमाडौँ, १८ फागुन । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार राति टेलिफोन कुराकानी भएको छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलीफोन संवाद भएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले जारी गरेको वक्तव्यअनुसार विदेशमन्त्री ब्लिंकन र प्रधानमन्त्री देउवाबीच रुसले युक्रेनमा गरिरहेको अनुचित र योजनाबद्ध आक्रमणबारे कुराकानी भएको हो।
उनले संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तअनुसार ब्लिन्कन र देउवाबीच राष्ट्रहरुको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको महत्त्व दिँदै सम्मान गर्नेबारे छलफल भएको जानकारी दिएका छन्।
देउवासँग टेलिफोन कुराकानीमा ब्लिंकनले नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउने निर्णय गरेको अमेरिकाले जानकारीमा लिएको बताउँदै त्यसबाट नेपालमा विद्युतीय ट्रान्समिसन लाइन र सडक निर्माण बाटो खुलेको बताएका छन्। उनले यसबाट रोजगारी सिर्जना, पूर्वाधार निर्माण गर्दै नेपाली जनताको जीवनस्तर सुधार्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन्।
यस क्रममा दुई जनाबीच नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेकोबारे पनि कुराकानी भएको छ।
अमेरिकी विदेश मन्त्रीले कोरोना महामारीपछिको पुर्स्थापना तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न मिलेर काम गर्न सहमत भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ।
ब्लिनकनले आफ्नो व्यक्तिगत टुइटरमा जनाएअनुसार युक्रेनमा रुसले गरिरहेको सैन्य आक्रमण र उक्त मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा अमेरिका र नेपालले जनाएको समर्थनबारे छलफल भएको हो।
साभार