काठमाडौँ, १७ फागुन । एकजना शिक्षिकामाथि बलात्कार आरोपमा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बित हुने भएका छन्।
जुम्ला घर भएकी माओवादी नेतृ एवम् शिक्षिकालाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा उनलाई बाँके प्रहरीले सोमबार साँझ नेपालगञ्जबाट पक्राउ गरेको एसपी श्यामकृष्ण अधिकारीले बताएका छन्।
प्रहरीले बानियाँलाई पक्राउ गरेको औपचारिक जानकारी दिएपछि सांसद बानियाँ निलम्बित हुने संघीय संसद सचिवालयले जनाएको छ।
‘माननीयज्यू पक्राउ परेको खबर हामीकहाँ आएको छ। त्यसबारे औपचारिक जानकारी आएपछि संघीय संसदबाट सांसद बानियाँको पद निलम्बनको जानकारी दिनेछौँ,’ संसद सचिवालयका एक अधिकारीले भनेका छन्।
बानियाँको पद निलम्बनको जानकारी बुधबार बस्ने संसद बैठकमा जानकारी गराइनेछ। सांसद बानियाँ मुगुबाट निर्वाचित भएका हुन्।
बानियाँले गत माघ १८ गते २५ लाख रुपैयाँ दिने भन्दै होटलमा बोलाए बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्। उनले गत माघ २७ गते बाँके प्रहरीमा जवरजस्ती करणी अन्तर्गत जाहेरी दिएकी थिइन्।
बानियाँ निलम्बित भएपछि एमालेका सांसदको संख्या पनि घट्ने भएको छ। बाँके प्रहरीको हिरासतमा रहेका बानियाँलाई म्याद थप गर्न अदालतमा लगिँदैछ।