धनगढी, ९ भदौ । लामो समयदेखि रिक्त रहेको माओवादी केन्द्रको सुदूरपश्चिम ईञ्चार्जमा खगराज भट्टलाई नियुक्त गरेपछि सहईञ्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरलाई नियुक्त गरिएको छ । पार्टीको हाईकमाण्डको निर्णय मान्न बाध्य भएपनि जोशी र स्वाँरले चाहेको पद सहईञ्चार्ज भने होईन ।
लेखराज भट्टको बहिर्गमनपछि माओवादी केन्द्रभित्र सुदूरपश्चिममा नेतृत्व कब्जा गर्न हानथाप भईरहेकै बेला केन्द्रले ईञ्चार्जसंगै सहईञ्चार्जहरु चयन गरेको हो । यद्दपि चयन हुन बाँकी अध्यक्ष लगायतका पद हत्याउन होडवाजी चलिरहेको माओवादी स्रोतले बतायो ।जोशी ईञ्चार्जका दावेदार थिए । केन्द्रले खगराज भट्टलाई ईञ्चार्ज र जोशीलाई सहईञ्चार्ज बनाईदियो ।
जोशीलाई बिना मगर, तारामान स्वाँर, मुख्यमन्त्री त्रिलोचन भट्ट र टेकेन्द्र भट्टको साथ छ । यस पटक भने बुहारी बिनाको समेत कुरा नमानेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टलाई ईञ्चार्ज तोके ।
बिना यतिबेला सुदूर पश्चिम प्रदेश अध्यक्षको दौडमा छन् । माओवादी नेतृ पम्फा भुसाल नेप बहादुर चौधरीलाई अध्यक्ष बनाउन चाहन्छिन । यद्दपि अध्यक्षमा जनाधार बलियो नरेन्द्र कुवँरको रहेको स्रोत बताउछ ।
अधिकांश जिल्ला अध्यक्षहरु कुवँरको समर्थनमा रहेको बताईन्छ । कुवँरलाई ईञ्चार्ज भट्टको पनि साथ र समर्थन छ । भट्ट ईञ्चार्ज हुनुमा कुवँरको समेत साथ थियो । उनलाई हरी चौधरी उत्सव, बीरमान चौधरी र ओम बिक्रम भाट सरलको समेत समर्थन थियो ।
बिनाको पक्षमा नौ वटा जिल्ला अध्यक्ष मध्ये दार्चुलाका अध्यक्ष गणेश खत्री मात्र रहेको बताईन्छ । स्रोत भन्छ, कार्यकर्तासंग भिजेका र पार्टीमा अविचलित रुपमा लागेकोले नौ वटै जिल्लामा नेता र कार्यकर्ताहरु कुवँरको समर्थनमा छन् ।
भट्ट पक्षधरहरु नेप बहादुर चौधरीलाई सह ईञ्चार्ज र रुपा चौधरीलाई सचिव बनाउन चहन्थे । चौधरीको सहईञ्चार्ज बन्ने संभावना समाप्त भईसक्यो । मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टीमा सबैभन्दा कमजोर देखिएका छन् । उनको पक्षमा दार्चुलाका जिल्ला अध्यक्ष मात्र देखिएका छन् ।
मुख्यमन्त्री भट्टको साथमा उनकै गृह जिल्लाका माओवादी केन्द्रका अध्यक्ष जंग बिक र माओवादीले जितेको डोटीको एक मात्र गाउँपालिकामा बोगटानका अध्यक्ष कमल गडसिला पनि छैनन ।
भर्खरै प्रदेश ईञ्चार्ज भएका खगराज भट्ट पनि मुख्यमन्त्री भट्टसंग असन्तुष्ट छन् । बिगतमा बिना मगरसंग प्रतिस्पर्धा वा उनीसंग फरक मत राख्दा माओवादी केन्द्रभित्र राजनीति समाप्त हुने डर अधिकांश नेतामा थियो । त्यसैले उनका बिपक्षमा उभिन कोही तयार हुदैनथिए ।
तर प्रचण्डको आडमा सधै आफूले चाहेको व्यक्तिलाई जिम्मेवारी दिएकी बिनाको कुरा यतिबेला भने प्रचण्डले सुन्न र मान्न छोडेको माओवादी स्रोतले बतायो । बिनाको बिपक्षमा उभिदा राजनीति गर्न गाह्रो हुने सोचले टेकेन्द्र भट्ट केही समय कित्ता परिवर्तन गर्दै बिनाको खेमामा उभिए ।
फेरि पनि पार्टीमा उनलाई कुनै भूमिका मिल्ने संभावना नरहेको स्रोत बताउछ । यतिबेला बिना एकातिर र अर्कोतिर माओवादी केन्द्रका ईञ्चार्ज भट्ट लगायतका नेताहरु छन् । उनीहरु मध्ये जसको शक्ति र जोड चल्यो उसकै पक्षधर माओवादी केन्द्रको अध्यक्ष चयन हुने देखिन्छ ।