सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले अर्का सत्तारुढ नेता डा. बाबुराम भट्टराईलाई ‘षड्यन्त्रकारी र साम्प्रदायिक’ भएको आरोप लगाएका छन् । गत भदौ ७ गते टीकापुरमा भएको सभालाई गरेको सम्बोधन सुनेपछि नेता रावलले डा. भट्टराईलाई गम्भीर आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै नेता रावलले डा. भट्टराईमाथि आक्रामक रुपमा प्रहार गर्दै लेखेका छन्, ‘कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ?’ टीकापुर हत्याकाण्ड भएको दिन भदौ ७ र ८ गते टीकापुरमा सम्मेलन आयोजना गरिएको थियो । जुन सम्मेलनमा डा. भट्टराई प्रमुख वक्ता थिए ।
नेता रावलले ट्विटरमा लेखेका छन्, ‘भदौ ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युबमा सुनें । उत्तेजनापूर्ण, सामाजिक सद्भाव बिथोल्ने, विभाजनकारी, षड्यन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ?’
