धनगढी: बैतडीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठनमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका ३ स्थित गुजर माविको ४ कोठे भवनको छानो हावाहुरीले उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले विद्यालयको चारकोठे भवनको छानो उडाएकाले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरुलाई पठनपाठनमा बाधा पुगेको विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले जानकारी दिए ।
भवनको छानो उडाएपछि बिहीबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई एकै कोठामा राखेर शिक्षण गर्नुपरेको र आज देखि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक अवस्थीले जानकारी दिए । यस्तै बैतडीको सुर्नया गाउँपालिका ४ स्थित राष्ट्रिय मावि फाटीगडाको विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएको हो । विद्यालयको जस्तापाताले छाएको भवनको छानो उडाएपछि विद्यार्थीहरुलाई पठनपाठनको समस्या भएको बताइएको छ ।
आधारभूत तहको पढाई हुने भवनको छानो हावाहुरीले उडाएपछि विद्यार्थीहरुलाई चौरमा राख्नुपर्ने बाध्यता आइ लागेको विद्यालयले जनाएको छ । बिहीबार पानी परेका कारण विद्यार्थीहरुलाई घर फर्काउनुपरेको थियो । २०६८ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयको ७ लाख अनुदानमा बनेको उक्त भवनको छानो उडाए पछि भवनको अभाव भएको विद्यालयले जनाएको छ ।