सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार पाँच वर्ष सम्म रहने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताए ।
सोमबार जनकपुर विमानस्थलमा प्रचण्डले नेकपाको सरकार पाँच वर्षसम्मै रहने तर नेतृत्व कसको हुने भन्नेबारे स्पष्ट बताएनन् । पार्टी कि केपी शर्मा ओलीको सरकार भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले ‘नेकपाको सरकार’ भनेका हुन् ।
पार्टी एकीकरणका बेला तत्कालीन दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सार्वजनिक भइसकेको उक्त सहमति पत्रमा ओली र दाहालले हस्ताक्षर गरेका हुन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि आफूलाई पनि पदमा बस्न मन नभएको बताउँदै प्रचण्डसँगको पूर्व सहमति पालना नहुने अथवा अहिले कुनै नयाँ समझदारी बनिसकेको संकेत गरेका थिए ।
तर सोमबार जनकपुर पुगेका दाहालले नेकपाको सरकार पाँच वर्षसम्मै रहने र प्रधानमन्त्री ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका हुन् ।