धनकुटा, २९ असोज/यहाँको महालक्ष्मी नगरपालिका वडा नम्बर १ मारेककटहरेकी एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।
लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटा प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिनुभयो । राती ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले प्रहरीलाई बयान दिएकी छन् ।
महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानले बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको पुष्टि गरेको छ । प्रहरी प्रमुख गोबिन्द अधिकारीका अनुसार मृतक लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटना मंगलबार राती करिब १० बजे घटेको कमलाको भनाई उदृत गर्दै स्थानीयले बताएका छन । राति घरमा आएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै चुकुल उत्काई भित्र पसेर आफूमाथि बलात्कार प्रयास गरेपछि आफूले खुकुरीले हिर्काउँदा उनको मृत्यु भएको कमलाले बयान दिएकी छन ।
खुकुरी प्रहारपछि भागेका लीलबहादुर टाउकोमा गम्भीर चोट लागेका कारण बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा मृतवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।