धनगढी, ३० कार्तिक/ नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली काँग्रेस भित्रको आन्तरिक विवादलाई छिटो टुंग्याउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । न्याय निरूपणमा ढिलाइ गर्नु पनि अन्याय भएको उल्लेख गर्दै उनले ऐतिहासिक लोकतान्त्रिक विरासत बोकेको पार्टीको भविष्यसँग अदालतले खेलबाड गर्न नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले कांग्रेसको आन्तरिक विवादबारे सर्वोच्च अदालतले यथाशीघ्र निर्णय गरेर पार्टीलाई अगाडि बढ्ने बाटो खोलिदिनुपर्ने बताए ।
‘छिटो न्याय नदिई न्याय निरूपणमा ढिलाइ गर्नु पनि अन्याय हो । ऐतिहासिक लोकतन्त्रको विरासत बोकेको पार्टीको भविष्यमा अदालतले खेलबाड गर्नु हुँदैन । यसको यथाशीघ्र न्यायिक निरूपण गरेर हामीलाई अगाडि बढ्ने बाटो दिनुपर्छ,’ उनले भने ।अदालतको निर्णय आएपछि नेपाली कांग्रेसले त्यसलाई स्वीकार गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । पार्टीभित्रको विवाद समाधान गरी संगठनलाई एकढिक्का बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।
महतले अदालतले कांग्रेसलाई विभाजित राख्ने कुनै पनि सुनियोजित षड्यन्त्रको हिस्सा बन्न नहुने धारणा राखे । उनले पार्टीभित्रको विवादलाई थप गहिरो बनाउने र अन्य पक्षलाई सहयोग पुग्ने गरी न्याय सम्पादनमा ढिलाइ भइरहेको आशंकासमेत व्यक्त गरे । ‘नेपाली कांग्रेसलाई फुटाइराख्ने सुनियोजित षड्यन्त्रमा अदालत सहभागी हुनु हुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने, ‘कांग्रेसभित्रको विवादलाई थप दरार पार्न र अरु कसैलाई सहयोग गर्न अप्रत्यक्ष रुपमा न्याय सम्पादन समयमै नगरेको देखिन्छ । कांग्रेसलाई विभाजित राखिराख्ने प्रयासको एउटा सहयोगी कडीका रुपमा सर्वोच्च अदालत देखिन थालेको छ ।’