धनगढी, ३० कार्तिक/भारत–नेपाल सीमावर्ती भारतीय बजार बनगाँउमा दीपावलीका बेला भएको भीषण आगलागी नियन्त्रणमा सहयोग पु¥याएको भन्दै भारतीय व्यापारीहरूले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालप्रति आभार व्यक्त गर्दै सम्मान गरेका छन् ।
नेपालको सीमावर्ती भारतीय बजार उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लास्थित पलियाका व्यापारी तथा भारतीय जनता पार्टी (भाजपा) नेता रवि गुप्ता सहितको टोलीले मेयर हमाललाई कार्यकक्षमै आएर दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।
आगलागीका कारण ठूलो जनधनको क्षति हुने जोखिम बढिरहेका बेला नेपालबाट तत्काल दमकल, जेसीबी र नगर प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा सहयोग गरेको थियो । नेपाली टोलीको उक्त मानवीय सहयोगले सयौँ पसललाई आगलागीको चपेटामा पर्नबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय व्यापारीहरूले मेयर हमाललाई धन्यवाद दिएका हुन् ।
भाजपा नेता रवि गुप्ताको नेतृत्वमा आएको टोलीले पलियाका पूर्वकाउन्सिलर विवेक गुप्ता, यातायात व्यवसायी देवराज गर्गलगायत व्यापारी तथा सीमावर्ती क्षेत्रका नागरिकका तर्फबाट मेयर हमाललाई धन्यवादपत्र हस्तान्तरण गरेको थियो ।हमालले छिमेकीका तर्फबाट सहयोगको जिम्मेबारीका साथ सहयोग सामग्री पठाएको बताएका छन् । सीमामा यस्ता घटनालाई दुईदेशको रेखा भन्दा माथि उठेर काम गर्नु उनले बताएका छन् ।
दीपावलीका बेला बनगाँउ बजारमा भएको आगलागीमा करिब ४० देखि ५० वटा पसल जलेर नष्ट भएका थिए। आगलागीबाट ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको व्यवसायी गुप्ताले जानकारी दिएका छन् ।घटनाबारे जानकारी पाएलगत्तै भाजपा नेता गुप्ताले आफ्ना मित्रसमेत रहेका धनगढीका मेयर हमाललाई फोन गरी सहयोगका लागि आग्रह गरेका थिए । गुप्ताको आग्रहपछि मेयर हमालले ढिलाइ नगरी दमकल, जेसीबी मेसिन र नगर प्रहरीको टोली नेपालबाट घटनास्थलतर्फ पठाएका थिए ।नेपाली टोलीको तत्काल उपस्थितिले आगो नियन्त्रण गर्न र थप फैलिन नदिन महत्वपुर्ण सहयोग पुगेको भारतीय व्यापारीहरूको भनाइ छ । सीमापारिबाट प्राप्त सहयोगले ठूलो आर्थिक क्षति हुनबाट जोगाएको भन्दै उनीहरूले नेपाली जनप्रतिनिधि तथा प्रशासनको मानवीय भावनाको प्रशंसासमेत गरेका छन् ।
रवि गुप्ताले मेयर हमाल र नेपाली प्रशासनप्रति आभार व्यक्त गर्दै भारत र नेपालबीचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित नभई सामाजिक, व्यावसायिक तथा पारिवारिक सम्बन्धले समेत जोडिएको बताए । उनले सीमावर्ती क्षेत्रका नागरिकबीचको आपसी सद्भाव र सहयोगलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।उनले भारतमा किनमेल तथा अन्य कामका लागि आउने नेपाली नागरिकलाई अनावश्यक दुःख तथा हैरानी नदिनसमेत आग्रह गरे ।
सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधि, आवागमन र नागरिकको सहजताका लागि दुवै देशका प्रशासन तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । बनगाँउ बजारमा भएको आगलागीका बेला नेपालबाट प्राप्त तत्कालीन सहयोगले नेपाल–भारत सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई विपद्का बेला एकअर्काको साथमा उभिने मानवीय सम्बन्धमा समेत आधारित रहेको सन्देश दिएको गुप्ताले बताए ।