धनगढी २८ कार्तिक/सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने मुख्य जीवनरेखा ‘भीमदत्त राजमार्ग’ का सडककिनार यतिबेला पहेँलपुर छ । बैतडीको खोड्पे र डडेलधुराको भातकाँडादेखि डोटीको गैरा, बुडर हुँदै कैलालीको सहजपुरसम्म सडककिनारका पसलहरू सुन्तला, कागती, ओखरलगायत फलफूलले ढकमक्क सजिएका छन् ।
राजमार्गछेउमा लहरै बनाइएका काठ र जस्ताका ससाना टहराअगाडि प्लास्टिकका क्रेट र टेबुलमा चिटिक्क सजाइएका निङालीका पहेँला सुन्तला, खोडपेको दाँते ओखर, हरियो कागती, ताजा अदुवा र सुगन्धित टिमुरले जोकोही यात्रुको ध्यान खिच्छ । पाटन नगरपालिका–८, खोड्पे क्षेत्रको आरुबाटाका किसान जयसिंह विष्टलाई यतिबेला तरकारीसँगै हिउँदे फलफूल कागती, अमिलो र ‘दाँते ओखर’ बेच्न भ्याइ नभ्याइ छ । गाडी रोकेरै यात्रुले प्रतिकिलो पाँच सय रुपियाँमा ओखर किनेर लैजाने गरेको विष्ट बताउछन् ।
उता डोटीको जोरायल गाउँपालिका–२ की सुशीला ओली बिहान झिसमिसेदेखि साँझ अबेरसम्म निङालीका रसिलो सुन्तला बेच्नमै तल्लीन देखिन्छन् । “सुन्तला पाक्ने सिजन सुरु भएकाले प्रतिकिलो ११० रुपियाँमा धमाधम बिक्री भइरहेको छ,” सुशीलाले खुसी हुँदै भने । पहाडबाट तराई झर्ने र तराईबाट पहाड उक्लने यात्रुका लागि राजमार्गको यो खण्ड ‘कोसेली हब’ नै बनेको छ । यहाँका अधिकांश पसल रातिको समयमा पनि खुला रहन्छन् । कतिपय पसलमा स्थानीय शुद्ध घिउ, मह, केरा, भाँगो र प्रख्यात ‘जोरायल बासमती चामल’ समेत सजाइएको छ । विशेष गरी ‘निङालीको सुन्तला’ भनेपछि यात्रुको जिब्रो नै रसाउने गरेको व्यापारीहरू बताउँछन् ।
बुडर क्षेत्रका व्यवसायी रमेश शाहीलाई ग्राहकको अत्यधिक रोजाइमा परेको जोरायल बासमती चामलको माग धान्न धौ धौ परेको छ । बाह्रै महिना मौसम अनुसारका ताजा उपज पाइने भएकाले यो क्षेत्र कृषि बजारीकरणको एक नमुना नै बनेको छ । यहाँ सङ्कलित फलफूल तथा तरकारी धनगढी मात्र नभई काठमाडौँसम्म निर्यात हुने गरेको छ । घरआँगनकै राजमार्गमा सहज बजार पाएपछि गाउँमै स्वरोजगारको वातावरण बनेको छ ।
‘सुन्तला सुपर जोन’ घोषणा
सुन्तलाको यो व्यावसायिक लहरलाई सरकारको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ ले थप बल पु¥याएको छ । परियोजनाले यी क्षेत्र समेटेर ‘सुन्तला सुपर जोन’ का रूपमा विकास गरिरहेको छ । कैलालीको चुरे गाउँपालिकास्थित निङाली, सहजपुर र खैरालाका रसिलो र गुलियो सुन्तलाको तराईका बजारमा अत्यधिक माग छ ।
त्यसै गरी डोटीको जोरायल–१ (निरौली), ३, ५ र ६ का साथै बडीकेदारको पातल, मुडा, राजेडा, छेडा, लाना, केदारअखडा तथा बोगटान फुड्सिल र केआईसिंह गाउँपालिकामा व्यावसायिक सुन्तला खेती विस्तार भएको छ । डडेलधुराको अमरगढी नगरपालिकाको भातकाँडाआसपास, भागेश्वरको सिराड क्षेत्र तथा गन्यापधुरा र आलिताल गाउँपालिकाका उच्च भेगमा पनि लटरम्म सुन्तला फल्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्र डडेलधुराका अनुसार जिल्लामा ३१० हेक्टर क्षेत्रफलमा दुई हजार सात सय मेट्रिक टन सुन्तला उत्पादन हुँदा वार्षिक छ करोड ५० लाख रुपियाँ किसानको हातमा पुग्ने गरेको छ । त्यस्तै डोटीमा २६२ हेक्टर क्षेत्रफलबाट वार्षिक तीन हजार ४०८ मेट्रिक टन सुन्तला उत्पादनमार्फत करिब आठ करोड रुपियाँ जिल्ला भित्रिने गरेको तथ्याङ्क छ । राजमार्गछेउमा फस्टाएको यो व्यापारले किसानको पसिनाको मूल्य मात्र चुकाएको छैनस सुदूरपश्चिमको आत्मनिर्भर अर्थतन्त्रको बलियो आधारसमेत तयार पारेको छ ।