धनगढी, २८ कार्तिक/कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा लामो समयदेखि औषधी अभाव हुँदा स्वास्थ्य बिमा गरेका बिरामीसमेत निजी औषधी पसलबाट औषधी खरिद गर्न बाध्य भएका छन् । अस्पतालमा प्रेसर, सुगर, दमलगायत नियमित रूपमा प्रयोग हुने औषधी अभाव भएपछि बिरामीलाई समस्या भएको हो । गत जेठमा लम्कीचुहा नगर अस्पताल प्रादेशिक अस्पतालका रूपमा रूपान्तरण भई सञ्चालनमा आएको हो । प्रादेशिक अस्पतालमा रूपान्तरण भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक औषधी तथा स्वास्थ्य सेवाको उपलब्धता भने अपेक्षा अनुसार हुन नसकेको सेवाग्राहीको गुनासो छ ।
लम्कीचुहा नगरपालिका–३ निवासी ५५ वर्षीया पवित्रा रावलले विगत तीन वर्षदेखि मधुमेहको औषधी सेवन गर्दै आएकी छन् । स्वास्थ्य बिमा गरेकी उनले बिमामार्फत निःशुल्क पाउनुपर्ने औषधी अस्पतालबाट उपलब्ध नभएपछि निजी औषधी पसलबाट खरिद गरेर सेवन गरिरहनुभएको बताए । अस्पतालमै भेटिनुभएकी रावलले भनिन् , “भदौदेखि अस्पतालबाट औषधी पाएको छैन । बाहिरबाट किनेर खाइरहेको छु । दिनमा तीन पटक खानु पर्छ । निःशुल्क पाउने औषधी पनि किनेर खानुपर्दा धेरै मर्का परेको छ ।”