धनगढी १८ कार्तिक/नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पार्टी कार्यालयमा अर्को समूहले कार्यवाहक सभापतिको पत्र देखाउँदै कब्जा जमाएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा सभापतिको नेमप्लेट हटाउने र सभापतिको कुर्सीमा कार्यवाहक सभापति बसेको भन्दै उनले तीव्र आक्रोश व्यक्त गरेका छन् ।
बुधबार नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति भट्टले अर्को समूहको गतिविधिलाई ‘चरम अनैतिकता र अराजकता’को संज्ञा दिएका हुन् । उनले पार्टीभित्र विधि, विधान र प्रक्रियाको पालना हुनुपर्नेमा जोड दिँदै कानुनी प्रक्रियाविपरीत कार्यालय कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए ।
‘हिजो यसै कार्यालयमा सभापतिको नेमप्लेटसहित हटाइएको छ । कार्यवाहक सभापतिको नाममा सिटिङ सभापतिको कुर्सीमा बस्ने र कार्यालयका सामग्री हटाउने काम चरम अनैतिकता हो,’ भट्टले भने ।
पत्रकार सम्मेलनमा भट्टले एउटै मितिमा जारी भएका तीनवटा पत्र सार्वजनिक गर्दै त्यसलाई आफ्नो दाबीको प्रमाणका रूपमा प्रस्तुत गरे । उनले पार्टीभित्रको विवाद समाधानका लागि विधि र प्रक्रिया अपनाउनुपर्ने भन्दै सम्बन्धित पक्षमाथि कारबाही गर्न माग गरे ।
‘पार्टीभित्र नियम छ, विधि छ, प्रक्रिया र पद्धति छ । त्यसलाई मिचेर अराजक समूहले पार्टी कब्जा गर्न खोज्नु दिवास्वप्न मात्रै हो,’ भट्टले भने, ‘हामी यसको कानुनी र सामाजिक रूपमा प्रतिवाद गर्छौं ।’
उनले आफूलाई निलम्बन गरिएको विषय र कार्यवाहक सभापति तोक्ने प्रक्रियामाथि पनि प्रश्न उठाए । पार्टीको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतको निर्णय नआउँदै कार्यवाहक सभापतिको हैसियतमा कार्यालय सञ्चालन गर्नु उचित नभएको जिकिर गरे ।
‘अदालतमा विचाराधीन मुद्दामा कार्यवाहक सभापति बनेर यसरी गतिविधि गर्नु अराजकता हो । कार्यवाहक सभापति तोक्ने हैसियत सानेपा र हामी दुवैसँग छैन,’ उनले भने । भट्टले अर्को समूहको गतिविधिबारे निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरे । आफू कसैको चरित्रहत्या गर्ने पक्षमा नरहेको भन्दै उनले सार्वजनिक रूपमा आएका आरोप र चर्चालाई प्रमाणका आधारमा मात्रै निष्कर्षमा पु¥याउनुपर्ने बताए । पत्रकार सम्मेलनमा भट्टले पार्टीभित्रको विवाद हिंसात्मक रूपमा अघि बढाउन नहुने धारणा राखे । सहमति, सहकार्य र संवादबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक परे कानुनी प्रक्रिया अपनाउने चेतावनी दिए ।
‘प्रतिवाद हिंसामा जानु हुँदैन । सहमति र सहयोगका साथ अघि बढ्नुपर्छ । तर विधि र विधानविपरीतका गतिविधि सहिँदैनन्,’ उनले भने । नेपाली कांग्रेस कैलालीमा सभापति नारायणदत्त भट्ट र अर्को समूहबीच नेतृत्व तथा कार्यवाहक सभापति नियुक्तिको विषयलाई लिएर विवाद चर्किँदै गएको छ । विवादको विषय अदालतमा समेत विचाराधीन रहेकाले पार्टी कार्यालय सञ्चालन र नेतृत्वको वैधानिकताबारे थप अन्योल देखिएको छ ।