धनगढी,१६ असोज / कैलालीका टीकापुर र गौरीगंगा नगरपालिकामा एकतामा शक्ति, रेविजबाट मुक्ति’ भन्ने नारासहित सडकमा रहेका सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ ।
२०औँ विश्व रेविज दिवसको अवसरमा नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) कैलालीको आयोजनामा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो ।
टीकापुर नगरपालिका–४ इन्द्रैया र वडा नम्बर ७ सत्तीमा २ सय डोज तथा गौरीगंगा नगरपालिकाका ११ वटै वडामा १ हजार ६ सय डोज गरी जम्मा १ हजार ८ सय डोज रेविजविरुद्धको भ्याक्सिन सामुदायिक कुकुरलाई लगाइएको नेभ्ला कैलालीले जनाएको छ ।
पशु स्वास्थ्य तथा पशु कल्याणलाई प्राथमिकतामा राख्दै सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको नेभ्ला कैलालीका अध्यक्ष विमल जोगीले बताए ।
उनका अनुसार सन् २०३० सम्म कुकुरको टोकाइबाट सर्ने मानव रेविजका कारण हुने मृत्युलाई शून्यमा झार्ने विश्वव्यापी लक्ष्यमा यस्ता कार्यक्रमले सहयोग पुर्याउनेछ ।
रेविज मानिस र जनावर दुवैका लागि घातक रोग भएकाले यसको नियन्त्रणका लागि सामुदायिक तथा घरपालुवा कुकुरलाई नियमित खोप लगाउने, कुकुरको टोकाइबाट बच्ने र टोकिहाले तत्काल स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने विषयमा पनि सचेतना गरिएको थियो ।