धनगढी, १६ असोज / धनगढीमा युवाका माग, मुद्दा तथा राजनीतिमा उनीहरूको सहभागिताका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा भएको कार्यक्रममा युवाहरूले चुनावका बेला हुने सहभागिता, राजनीतिक दलमा युवाको अवस्था, राज्यका नीति तथा नियम निर्माण प्रक्रियामा युवाको सहभागिता र समाजका विभिन्न घटना–परिघटनामा युवाले उठाउँदै आएको आवाजलगायतका विषयमा छलफल गरेका छन्।
कार्यक्रममा सहभागी युवाहरूले राजनीतिमा युवाको सहभागिता चुनावका बेला मतदाताका रूपमा मात्र सीमित हुन नहुने बताएका छन्। उनीहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।
युवाहरूले वर्तमान राजनीतिक दलहरूमा युवाको सहभागिताको अवस्था, राजनीतिप्रति युवाको बुझाइ तथा राजनीतिक नेतृत्वप्रति युवाको अपेक्षाका विषयमा समेत आफ्ना धारणा राखेका थिए।
त्यस्तै, समाजमा हुने विभिन्न घटना तथा परिघटनाबारे आवाज उठाउने, युवाका सवाललाई सम्बन्धित निकायसम्म पुर्याउने र राज्यका कामकारबाहीमा पारदर्शिता तथा जवाफदेहिता कायम गराउन युवाको भूमिका महत्वपूर्ण हुनेमा सहभागीहरूले जोड दिएका छन्।
कार्यक्रममा युवालाई समाजले हेर्ने दृष्टिकोण, युवाका सवाललाई सम्बोधन गर्ने अवस्था तथा वर्तमान समयमा युवाले भोगिरहेका विभिन्न समस्या र चुनौतीबारे समेत छलफल गरिएको थियो।
अन्तरक्रियाका क्रममा युवाहरूले आफ्नो सहभागिता केवल कार्यक्रममा उपस्थित हुने वा चुनावका समयमा सक्रिय हुनेमा सीमित नभई राज्य सञ्चालन र सामाजिक रूपान्तरणका प्रक्रियामा समेत प्रभावकारी हुनुपर्ने बताएका थिए।
यस्तै युवाहरूले समयक्रम अनुसार आफ्नो दक्षता र विज्ञता समेत बढाउँदै जानुपर्नेमा युवा अभियन्ता सन्तोष रावलले जोड दिए।