कञ्चनपुर, १४ असोज / कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ। नगरपालिकाले विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक विद्यालयलाई एकरएक वटा बस हस्तान्तरण गरेको हो।
बुधबार आयोजित कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई बसको चाबी हस्तान्तरण गरेका हुन्।
नगरपालिकाका अनुसार बस प्राप्त गर्ने विद्यालयहरूमा रास्ट्रीय माध्यमिक बिद्यालय पहरिया, उदय माध्यमिक विद्यालय, नन्द माध्यमिक बिद्यालय देखतभुली, कृस्ण माध्यमिक बिद्यालय गुलरिया, महाकाली माध्यमिक बिद्यालय र बिणा माध्यमिक विद्यालय रहेका छन्।
विद्यालय बस सञ्चालनमा आएपछि ग्रामीण तथा टाढाका बस्तीबाट विद्यालय पुग्नुपर्ने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी नियमित सार्वजनिक यातायातको पहुँच नभएका तथा विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई बस सेवाले प्रत्यक्ष लाभ पुग्ने नगरपालिकाको विश्वास छ।
नगरपालिकाले खरिद गरेको बसमा ५० जनासम्म विद्यार्थी अट्ने क्षमता रहेको जनाइएको छ। नगरपालिकाले खरिद प्रक्रिया पूरा गरी विद्यालयलाई बस उपलब्ध गराएको हो।
विद्यालय बस प्राप्त भएपछि विद्यार्थीको नियमित उपस्थिति बढाउन, विद्यालयसम्मको पहुँच सहज बनाउन तथा अभिभावकलाई दैनिक आवतजावतको झन्झट कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि भौतिक पूर्वाधारसँगै विद्यार्थीमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। विद्यालयलाई बस हस्तान्तरणले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन तथा टाढाका विद्यार्थीलाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन समेत सहयोग पुग्ने नगर प्रमुख हेमराज ओझाको भनाइ छ।