धनगढी, १४ असोज/ नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलालीमा अधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृत खटिएका छन्। निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिंहको नेतृत्वमा निर्वाचन टोली बुधबार धनगढी आइपुगेको हो।
असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनका लागि कैलालीका १२६ वटै वडामा मतदान अधिकृत खटाइने निर्वाचन अधिकृत सिंहले जानकारी दिए। वडा तहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न गर्न पार्टीको निर्धारित कार्यतालिकाअनुसार तयारी तीव्र पारिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले बताए।
कांग्रेसको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँरनगर अधिवेशन, असोज २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र कात्तिक १४ गते जिल्ला अधिवेशन हुनेछ। यस्तै, मंसिर ८ गते प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने कांग्रेसले जनाएको छ।