धनगढी, ६ असोज / सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले धनगढीमा ‘नौ रङ्ग सुदूरको तरङ्ग’ एक दिने खुला समूह नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
आयोजकले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १० गते शनिबार प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रतियोगिता धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित रिद्धि सिद्धि प्यालेसमा बिहान १० बजेदेखि सञ्चालन हुने गरी तयारी गरिएको आयोजकले बताएको छ।
आयोजकका अनुसार प्रतियोगितामार्फत सुदूरपश्चिम क्षेत्रका लोपोन्मुख स्थानीय तथा मौलिक नृत्यको उत्थान, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ। प्रतियोगितामा अन्य क्षेत्रका नृत्यलाई भन्दा सुदूरपश्चिमका स्थानीय तथा मौलिक नृत्यलाई प्राथमिकता दिइने जनाइएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहमा कम्तीमा २ जना र बढीमा १० जना सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ। नृत्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रम दर्शकका लागि निःशुल्क रहनेछ भने प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिनेछ।
विजेताले २० हजारसम्म पुरस्कार पाउने
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा तृतीय हुनेले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, सान्त्वना पुरस्कारका रूपमा निःशुल्क नृत्य प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने समूहले तोकिएको समयभित्र दर्ता गर्नुपर्नेछ। नियमित दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। तोकिएको मितिपछि दर्ता गर्न आउने टोलीका लागि प्रतियोगिता सुरु हुनुभन्दा ६ घण्टाअघिसम्म २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ।
प्रत्यक्ष उपस्थित भएर दर्ता गर्न नसक्ने टोलीले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन गरी अनलाइनमार्फत समेत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। दर्ताका लागि धनगढीको ‘द प्यासन डान्स स्टुडियो’मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकले सुदूरपश्चिमको कला, संस्कृति र मौलिक नृत्यको संरक्षणमा योगदान पुर्याउने अभियानका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। प्रतियोगितामा सक्रिय सहभागिताका लागि कलेज, विद्यालय, नृत्य समूह तथा सञ्चारकर्मीहरूलाई समेत आह्वान गरिएको पत्रकार सम्मेलन मार्फत ‘द प्यासन डान्स स्टुडियो’ धनगढीका निर्देशक अनिल खत्रीले बताएका छन्।