कञ्चनपुर, ६ असोज / जलवायु परिवर्तनको असरले कञ्चनपुरका अस्पतालहरूमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनका कारण पछिल्लो डेढ महिनायता भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।
छिनछिनमा वर्षा, अत्यधिक गर्मी धुलो–धुवाँ तथा प्रदूषित वातावरणले भाइरल ज्वरोका बिरामीहरूको सङ्ख्या वृद्धि भएको कञ्चनपुरका अस्पतालहरूले बताएका छन् । पछिल्लो तीन साता अघिदेखि दैनिक ८० भन्दा बढी भाइरल ज्वरो, टाइफाइड लगायतका बिरामी उपचारका लागि आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । मौसममा परिवर्तन, दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा ज्वरोको प्रकोप फैलिएको प्रादेशिक अस्पतालले जनाएको छ ।
भाइरल रोगबाट विशेष गरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा प्रभावित बनेका छन् । सङ्क्रमितहरूमा खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी शान्त प्रसाद जोशीले पछिल्लो एक महिनाको अवधिमा झन्डै दुई हजार बिरामी भाइरल ज्वराका कारण अस्पतालमा उपचार गराउन आएको बताएका छन् । केहीमा डेङ्गु तथा स्क्रब टाइफसको लक्षण पनि देखा परेको उनले बताए ।
ज्वरो आएका बिरामीमध्ये ८० प्रतिशत बिरामीमा भाइरल ज्वरोको लक्षण देखा परेको उनले बताए । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका अनुसार, पछिल्लो तीन साताको अवधिमा एक हजार दुई सय भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि आएका छन् । स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द विष्टले जलवायु परिवर्तनको कारण भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको बताएका छन् । बिरामीहरूमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको उनले बताए । तातो पानी, झोलिलो खानेकुरा तथा माछा मासु पर्याप्त मात्रामा सेवन गर्न उनले आग्रह समेत गरेका छन् ।
यसैगरी, भदौ महिना सुरु भएयता हालसम्म एक हजार एक सय भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि आएको दोधारा चाँदनी अस्पतालले जनाएको छ । जाडो मौसम निजिकिएसँगै मानिसहरू बिरामी पर्न थालेको अस्पतालका जनस्वास्थ्य निरीक्षक भीम साउदले बताए । अस्पतालहरूमा उपचार गराउन आउने अधिकांश बिरामीहरू ज्वरो, रुघाखोकी, श्वासप्रश्वास समस्या र झाडापखाला, टाउको दुख्नु, कमजोरी भएका बिरामी भेटिने गरेको उनले बताए ।
प्रदूषित वातावरण र मौसम परिवर्तका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको चिकित्सकहरू बताउँछन् । जिल्लामा केही सातायता फैलिएको भाइरल ज्वरोका कारण अधिकांश गाउँका बासिन्दा बिरामी परेका छन् भने, झाडापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामीको सङ्ख्यासमेत बढ्दै गएको अस्पतालले जनाएका छन् । यहाँका निजी अस्पतालहरूले पनि अत्यधिक बिरामीहरू भाइरल ज्वरोका सङ्क्रमणका कारण उपचारका लागि आउने गरेको जनाएका छन् । श्वासप्रश्वासबाट यो रोग एक अर्काेमा सर्ने भएकाले यसबाट जोगिन सरसफाइमा ख्याल राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।