धनगढी, ६ असोज / नेपाली कांग्रेस संस्थापन इतर पक्षको कैलाली जिल्ला भेला आज धनगढीमा बसेको छ। पार्टीको १५औँ महाधिवेशनको तयारी तथा असोज १५ गतेदेखि हुने वडा अधिवेशनलगायतका महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न भेला आयोजना गरिएको हो।
भेलामा संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। भेलामा सहभागी नेताहरूले पार्टीभित्र देखिएको विवाद र पार्टी विभाजनतर्फ जानसक्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
भेलामा आफ्नो धारणा राख्दै नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले असोज ३ र ४ गते भएका वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूप्रति प्रश्न उठाएका छन्।
उनले असोज ३ र ४ गते वडा अधिवेशन गरेर चयन भएका सबै प्रतिनिधि ‘घण्टी कांग्रेस’ भएको आरोप लगाए। उपाध्यायले कांग्रेसको संगठन र नेतृत्वलाई कमजोर बनाउने गरी अधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
‘असोज ३ र ४ गते वडा अधिवेशन गरेका साथीहरूले कांग्रेसलाई घण्टी कांग्रेस बनाइसके,’ उनले भेलामा भने। उनले ती मितिमा चयन भएका सबैलाई ‘घण्टी कांग्रेस’को संज्ञा दिएका हुन्।
भेलामा सहभागी नेताहरूले पार्टीको आगामी महाधिवेशन प्रक्रिया, वडा अधिवेशन तथा संगठन निर्माणका विषयमा समेत छलफल गरेका छन्। संस्थापन इतर पक्षले असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनलगायतका महाधिवेशन प्रक्रियाका लागि आवश्यक तयारी गर्ने र जिम्मेवारीअनुसार संयोजक तोक्ने तयारी गरेको जनाएको छ।