धनगढी, ४ असोज / प्रगतिशील लेखक सङ्घ (प्रलेस), नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा प्रलेसको ७५औँ स्थापना दिवस तथा हीरक जयन्तीको अवसरमा दुई कृतिको गृह विमोचन, कृति परिचर्चा तथा रचनावाचन कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
शुभम् होटलमा २०८३ असोज ४ गते आयोजित कार्यक्रममा तिलकबहादुर सिंहको ‘स्याल घुम्रा’ तथा खिमानन्द बडुको डोटेली भाषाको कविता सङ्ग्रह ‘पचपन्नमा पचपन्न’ को गृह विमोचन गरिएको हो।
कार्यक्रममा ‘स्याल घुम्रा’ कृतिको समीक्षा प्रलेस प्रदेश सल्लाहकार ओमप्रकाश पुन र ‘पचपन्नमा पचपन्न’ कृतिको समीक्षा प्रदेश सल्लाहकार तथा संस्कृतिविद् जगदीश ओझाले गरेका थिए। समीक्षकद्वयले दुवै कृतिले समाजको यथार्थ धरातलमा रहेर सामाजिक विकृति तथा विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रहार गरेको चर्चा गरे। कृतिहरूले देश तथा राजनीतिभित्र देखिएका अतिवादी प्रवृत्तिमाथि प्रश्न उठाउँदै समाजलाई प्रगति र नयाँ दिशातर्फ अघि बढ्न प्रेरित गर्ने धारणा उनीहरूको थियो।
कार्यक्रममा १७ जना स्रष्टाले प्रगतिशील तथा व्यङ्ग्यात्मक रचना प्रस्तुत गरेका थिए। सो अवसरमा कृतिको समीक्षा गर्ने समीक्षकद्वयलाई सम्मानपत्र तथा रचनावाचनमा सहभागी स्रष्टाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रलेस सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा भौतिक पूर्वाधार विकासमन्त्री जानकी कुँवर रहेकी थिइन्। विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल, प्रलेस केन्द्रीय सदस्य गंगा रिजाल तथा कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझा रहेका थिए।
कार्यक्रममा प्रलेस प्रदेश सल्लाहकार जगदीश ओझा, पूर्व सल्लाहकार लक्ष्मीप्रसाद पौडेल, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य गणेश नेपाली, जिल्ला सल्लाहकार दीपकबहादुर सिंह, जयदेव जोशी दार्चुले, साहित्यकार उर्मिला न्यौपाने, यमराज जोशी, पवन सुनार, अक्कल विष्टलगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन प्रलेस प्रदेश सचिव चन्द्र थापाले गरेका थिए भने उपाध्यक्ष गणेश ढकालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमबारे फाल्गुना दाहालले जानकारी गराएकी थिइन्।