धनगढी ८ साउन/धनगढीको कृष्ण मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि सत्याग्रह थालेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई धर्मशाला छाड्न भन्दै पत्र थमाएको छ । धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीलाई शुक्रबार बिहान पत्र काट्दै अनसनरत केसीलाई छाड्न अनुरोध गरेको हो ।
अध्यक्ष पन्तले केसीलाई धर्मशाला छाड्न पत्र दिइएको कुरा पुष्टि गरेका छन् । ‘उहाँ बास बस्छु भनेर आउनुभएको थियो तर कुनै जानकारी बिना अनसन नै बस्नुभयो,’ पन्तले भने, ‘धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थाल्यो । त्यसैले उहाँलाई धर्मशाला छाड्नुहोस् भनेका हौं ।’ दबाब कसले दियो भन्ने कुरा भने पन्तले खुलाएन ।
