धनगढी । कैलालीको चुरे गाउँपालिकामा जीविकोपार्जन तथा जैविक विविधता संरक्षणका लागि सञ्चालित सामुदायिक सशक्तिकरण परियोजनाअन्तर्गत बहुप्रकोपीय पूर्वसूचना सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। जेओए, ब्रिटिस रेडक्रस र नेपाल रेडक्रसको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम आज समापन गरिएको हो।
समापन कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी, उपाध्यक्ष धनादेवी थापा, सूचना अधिकारी कालीप्रसाद भट्ट, रेडक्रस सोसाइटी कैलालीका जिल्ला शाखा अधिकृत नरेन्द्र भट्ट, चुरे उपशाखाका सभापति केशव ओझा, वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर धामी, शिवशक्ति सामुदायिक वनका पदाधिकारी, सीबीपीयु प्रतिनिधि तथा रेडक्रसका च्याम्पियनहरूको उपस्थिति थियो।
तालिमले समुदायको जीविकोपार्जनमा सुधार ल्याउने र जैविक विविधता संरक्षणमा स्थानीयलाई अझ सशक्त बनाउने उद्देश्य राखेको कार्यक्रम अधिकृत लौटन चौधरीले बताए ।
चुरे क्षेत्रका जोखिमयुक्त स्थान पहिचान गरी व्यवहारिक र जिवन उपयोगी तालिम दिइएको जिल्ला शाखा अधिकृत नरेन्द्र भट्टले बताए। “सहभागीले सिकेका कुरा व्यवहारमा उतार्न सके विपद् व्यवस्थापनमा ठूलो फाइदा हुन्छ,” उनले भने। पछिल्लो समय माटोको गुणस्तर कमजोर हुँदै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने उनले जोड दिए।
५ नम्बर वडा बाढी–पहिरोको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले तालिम विशेष रूपमा महत्त्वपूर्ण रहेको चुरे उपशाखाका सभापति केशव ओझाले बताए। “प्रकोप आउनुअघि कसरी तयारी गर्ने भनेर सिकेर लागू गर्न सके क्षति धेरै हदसम्म कम गर्न सकिन्छ,” उनले भने।
चुरे क्षेत्र भौगोलिक रूपमा कमजोर भएकाले रेडक्रसले संरक्षण, वृक्षारोपण र समुदाय सशक्तिकरणका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको वडा अध्यक्ष वीरबहादुर धामीले जानकारी दिए।
रेडक्रसले जोखिम पहिचानपछि स्थानीयलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको उपाध्यक्ष धनादेवी थापाले बताइन्। “अब सहभागीहरू आफैँले समस्या समाधान गर्न सक्ने जनशक्ति बन्नेछन्,” उनले भनिन्।
गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले तालिमबाट सिकेका सीप समुदायमै लागू हुने विश्वास व्यक्त गरेका छन्। “रेडक्रसले विपद् मात्र होइन, आयआर्जनका कामहरूमा पनि साथ दिएको छ। गाउँपालिकाले पनि यसका लागि बजेट विनियोजन गरेको छ,” उनले भने।
चुरेका ५ र २ नम्बर वडा बाढी–पहिरो जोखिमयुक्त भएकाले सो क्षेत्रका सहभागीलाई प्राथमिकताका साथ तालिम दिइएको तालिम प्रशिक्षक सुरतबहादुर स्वारले बताए । उनले विपद् आएमा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट आवश्यक सहयोग प्रदान गरिने समेत बताए।
तीन दिनसम्म सञ्चालन भएको तालिमले बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न समुदायलाई थप सक्षम बनाउने अपेक्षा गरिएको छ।