सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ।
यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो।
दोस्रोपटक थप गरेको अवधि भोलि सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो।
हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।