धनगढी, २७ असार / धनगढी १३ मा रहेको कैलाली सामुदायिक वनले वृक्षारोपण गरेको छ। धनगढी १३ मै रहेको किङ्गफिसर स्कुलको सहकार्यमा कैलाली सामुदायिक वनको कार्यालय वरपर वृक्षारोपण गरिएको सामुदायिक वनका अध्यक्ष हरिश सिंह बोहराले जानकारी दिए।
सव-डिभिजन वनले उपलब्ध गराएका बोटहरु रोपणमा किङ्गफिसर स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र शिक्षकहरूको सहयोग रहेको थियो । विद्यार्थीहरुको सहयोगले पाँच सय बिरुवा वृक्षारोपण गरिएको अध्यक्ष बोहोराले जानकारी दिए ।
यस्तै किङ्गफिसर स्कुलकी शिक्षक दुर्गा भट्टले ” विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र सामाजिक कार्यमा पनि अगाडी वढाउनको लागि वृक्षारोपणमा सहभागी गराएको बताइन्। हामीले प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रममा सदैव कैलाली सामुदायिक वन सँग सहकार्य गरिरहेको समेत बताइन्। तर समुदायका उपभोक्ताले लगाएका बिरुवाको संरक्षण नगर्नु दुखद पक्ष रहेको उनले बताइन् ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन वडा नं १३ अध्यक्ष विजयराज जोशीले गरेका थिए भने कार्यक्रममा वनका पदाधिकारी, नेपाल प्रहरी, पत्रकार, किङ्गफिसर स्कुलका विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको थियो।