धनगढी, २४ असार / कैलाली जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्न निर्णय भएको छ । धनगढीमा बुधवार जिल्ला खोप समन्वय समिति कैलालीको बैठकले यही असार ३० गते जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने निर्णय गरेको हो ।
असार २४ गतेसम्म जिल्लाका १३ वटै स्थानिय तहहरुमा वडादेखि पालिकासम्म पूर्ण खोप सुनिश्चित निर्देशिका बमोजिम प्रक्रिया पुर्याई पूर्ण खोप पालिका सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख एवं जिल्ला खोप समन्वय समिति कैलालीका सदस्य सचिव रमेश कुँवरले बताए ।
बैठकले पूर्ण खोप जिल्ला सुनिश्चित घोषणा समारोहमा खोप सेवामा संलग्न उत्कृष्ट १३ वटै पालिकाबाट एक÷एक जना छनौट गरी १३ जना स्वास्थ्यकर्मीहरुलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिती कैलालीकी प्रमुख टीकाकुमारी चौधरी (भूल) को अध्यक्षत्यतामा बैठक बसेको थियो ।