धनगढी, २३ असार /धनगढीमा अपाङ्गता भएका महिलाहरूको प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँचको विषयलाई लिएर दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम पहिचान नेपालको आयोजना र सफल नेपालको समन्वयमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भएको हो।
कार्यशालामा सहभागीहरूले प्रजनन स्वास्थ्यसँग सम्बन्धित सेवाहरूमा सहज पहुँच अझै नहुँदा अपाङ्गता भएका महिलाहरू थप पछाडि पर्ने अवस्था रहेको धारणा ब्यक्त गरेका थिए ।
उनीहरूले सामाजिक सोचदेखि सरकारी संरचना, अस्पताल सेवा, जानकारीको पहुँच, र नीति निर्माणमा अपाङ्गता भएका महिलाहरूको आवाज समावेश नहुनु मुख्य समस्या रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले , “सरकार अपाङ्गता भएका नागरिकहरूको पक्षमा काम गर्न तयार छ, तर कार्यान्वयनको चरणमा समस्या देखिएको बताए । ”
सहभागीहरूले स्वास्थ्य पूर्वाधार, अस्पताल सेवा, जानकारीको माध्यम र जनशक्ति सबैमा अपाङ्गमैत्री दृष्टिकोणको अभाव रहेको बताए।
कार्यक्रम असार २२ र २३ गते सञ्चालन भएको हो । कार्यक्रमको सञ्चालन सफल नेपालका सचिव मानसिंह बिष्टले गरे भने सभापतित्व पहिचान नेपालकी अध्यक्ष इक्छा केसीले गरिन्। प्रमुख अतिथिको रुपमा सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काको उपस्थिति थियो।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका सदस्य मदन नेपाली, राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष कृष्ण धमला, साथै धनगढी र कृष्णपुर नगरपालिकाका स्वास्थ्यकर्मी, र विभिन्न अपाङ्गता सम्बन्धी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।