धनगढी,२२ असार । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ स्थित माघी होमस्टेमा चार वर्ष पहिले निर्माण सम्पन्न भएको संग्राहलय भवन बाटोको निकास नभएपछि सञ्चालनमा समस्या भएको छ ।
प्रदेश सरकारको अनुदान सहयोगमा निर्माण भएको उक्त भवनसम्म पुग्ने बाटो नभएपछि सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ ।
तत्कालीन माघी गाउँका भलमन्सा ताराप्रसाद चौधरीले प्रदेश सरकारको २० लाख रुपियाँ अनुदान सहयोगमा उपभोक्ता समिति मार्फत थारु संग्राहलय भवन निर्माण कार्य सम्पन्न भएको बताउनुभयो।
उहाँले माघी सामुदायिक वन क्षेत्र अन्र्तगत थारु समुदायले प्रयोगमा ल्याएको मरुवा र देउथानको करिब १० कट्ठा जमिनमा थारु संग्राहलय भवन निर्माण भएको जानकारी दिनुभयो । उहाँले नक्सामा बाटो भएपनि स्थानीयले खेती लगाउने क्रममा बाटोसमेत जोतभोग गरेपछि अहिले बाटो छुट्याउन समस्या भएको उल्लेख गर्नुभयो । भवननिर्माण पूर्व बाटो छोड्ने मौखिक सहमति भएपनि कार्यान्वयनमा समस्या भएको उहाँको भनाइ छ ।
संग्राहलय भवनसम्म पुग्न भयरबहादुर चौधरीले खनजोत गरेको जमिन हुँदै जानुपर्छ । उक्त जमिनमा खनजोत गर्दै गर्दा भेटिनु भएका चौधरीले ऐलानी जग्गा भएपनि वर्षौदेखि आफूले खेती लगाउदै आएको बताउनुभयो ।
उहाँले भवन निर्माण सामाग्री ल्याउन लैजान बाटो दिएपनि सधैंकालागि बाटो दिन नसक्ने जिकिर गर्नुभयो । संग्राहलय भवन निर्माण गर्नुभन्दा पहिला बाटो छुट्याउनु पर्दथ्यो । पहिला बाटोको निकास नहुदा अहिले समस्या आएको छ ।
स्थानीय सन्तोषी चौधरीले थारु समुदायको संग्रालय बनाउने कुरामा गाउँमा छलफल भएको आफूले थाहा नपाएको बताउनुभयो ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले माघीका थारु समुदायको आग्रह र सुदूरपश्चिम प्रदेश सरकार अनुदान सहयोगमा आर्थिक वर्ष २०७७।०७८ मा बजेट विनियोजित भई उक्त भवन निर्माण सम्पन्न भएको हो । माघी सामुदायिक होमस्टेका उपाध्यक्ष बालकुमार चौधरीले बाटोमा विवाद भयपछि सञ्चालनमा ढिलाई भएको बताउनुभयो ।
उहाँले चालु आर्थिक बर्षमा संग्राहलयका लागि तारा गाउँविकास समितिले दुईलाख रुपियाँ अनुदान सहयोग गरेको उल्लेख गर्दै हाल भवनलाई रङरोगन गर्ने कार्य सम्पन्न गरेको बताउनुभयो ।
वडा नम्बर ४ का वडाअध्यक्ष भरतबहादुर शाहीले संग्राहलय निर्माण भएको स्थलसम्म जानका लागि नक्सामा बाटो भएपनि स्थानीयले ऐलानी जग्गामा खेती लगाउने क्रममा बाटोको जग्गासमेत प्रयोग गरेको जानकारी दिनुभयो ।
