धनगढी, २१ असार / सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य तथा प्रदेश युवा परिषद् र जिल्ला युवा सशक्तिकरण समिति कैलालीको संयुक्त आयोजनामा दुईदिने ‘युवा सशक्तिकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम’ सम्पन्न गरिएको छ।
असार २० र २१ गते धनगढीमा सम्पन्न तालिममा ४० जना युवाहरुको सक्रिय सहभागिता रहेको थियो। तालिममा उद्यमशीलता विकास, वित्तीय साक्षरता, बजेट योजना, खर्च व्यवस्थापन, बचतको महत्व र सेयर बजारको आधारभूत ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रमको सहजकर्ताको भूमिकामा सुदूरपश्चिम प्रदेश युवा परिषद्का निवर्तमान सदस्य शेर बहादुर बिष्ट रहेका थिए। सहभागीहरूले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका छन्।
तालिमको उद्घाटन समारोह असार २० गते सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावद तथा जिल्ला युवा सशक्तिकरण समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
असार २१ गते शनिबार सम्पन्न समापन समारोहमा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको हो ।