धनगढी १८ असार । कञ्चनपुरको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयहरूको नतिजा चिन्ताजनक देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बेदकोटमा सामुदायिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीले मात्र ३.७ जिपिए ल्याउँदा संस्थागत विद्यालयहरूमा अध्ययनरत १८ विद्यार्थीहरूले ३.७ जिपिए प्राप्त गरका हुन् ।
बेदकोटमा १२ सामुदायिक विद्यालयका ७२१ विद्यार्थीहरू एसइई परीक्षामा सहभागी भएका थिए । तर २१७ परीक्षार्थी मात्रै यस पटकको एसइई परीक्षामा पास गरेका छन् ।
नगरप्रमुख भोजराज बोहरा शिक्षा संयोजक रहेको बेदेकोट नगरपालिकामा यस वर्ष ७० प्रतिशत विद्यार्थी एसइई परीक्षामा फेल भएका छन् । विद्यालयको अनुगमनमा आफू निकटकालाई राख्दा विद्यार्थीहरूको भविष्यमाथि भने खेलबाड गर्न खोजिएको आरोप अभिभावकहरूले लगाएका छन् ।
निजी विद्यालयहरूलाई प्रोत्साहित हुने गरी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा आवश्यक शिक्षक व्यवस्थापन नगरेको, विषयगत शिक्षक व्यवस्थापनमा चासो नदिएको स्थानीय समाजसेवी कर्णबहादुर पातलीले बताउनुभयो । जसले यहाँका विद्यार्थीहरूको भविष्यमा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
वडा नम्बर १० रत्नमावीमा ४० विद्यार्थीहरूले एसइई परीक्षा दिएकोमा एक जना मात्रै २ जिपिएसहित पास भएको शिक्षा शाखा प्रमुख पदमराज भट्टले बताउनुभयो । यस्तै, सिद्धनाथ मावि मुसेपानीमा १४ परीक्षार्थी एसइईमा सहभागी भएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।
धरमपुरस्थित सरस्वती माविबाट ७२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा तीन जना मात्रै उत्र्तीण भए । शिक्षा शाखा प्रमुख भट्टले भन्नुभयो, ‘‘शिक्षक अभाव छ, प्राविको शिक्षकहरूले माथिल्लो कक्षामा पनि पढाउनुपर्ने बाध्यता छ, जसले सामुदायिक विद्यालयको नतिजा सोचेअनुरूप आउन सकेन् ।’’
‘‘पालिकास्थित विद्यालयहरूमा विषयगत शिक्षक हरुको ज्यादै अभाव छ,’’ उहाँले भन्नुभयो, ‘‘आगामी वर्षदेखि शिक्षक अभाव भएका विद्यालयमा पालिकाबाट अनुदान दिइएको छ, अब सुधार हुने अपेक्षा गरेका छौँ ।’’
तर बेदकोट नगरपालिकाका नगरप्रमुख बोहराले भने विगतका वर्षभन्दा एसइई नतिजामा क्रमिकरुपमा सुधार हुँदै गएको दाबी गर्नुभयो । गत वर्ष २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ३० प्रतिशत उत्तीर्ण भएका बताउनुहुँदै प्रमुख बोहराले यस वर्षको नतिजामा सुधार भएको बताउनुभयो । ‘‘शिक्षा शाखामा तीन जना मात्रै कर्मचारी छन्,’’ प्रमुख बोहराले भन्नुभयो, ‘‘कर्मचारी अभावले नियमित विद्यालयहरूको अनुगमन गर्न सकिने अवस्था पनि त छैन ।’’
नगर शिक्षा समितिका सदस्यहरूलाई भने दुई समूहमा विभाजन गरेर विद्यालय अनुगमनमा खटाइएको प्रमुख बोहराले दाबी गर्नुभयो । तहगत रूपमा सुधार गर्न भने समय लाग्ने उहाँले बताउनुभयो । बेदकोटमा गत वर्ष तीन विद्यालयको नतिजा शून्य आएको बताउनुहुँदै प्रमुख बोहराले यस पटक एक विद्यार्थी भए पनि पास भएकाले नतिजामा सुधार आएको बताउनुभयो ।
अभिभावकहरुले भने निजी र सामुदायिक विद्यालयमा एउटै किसिमको शिक्षा निति लागू हुनुपर्ने, सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा कायम हुनुपर्ने माग गरेका छन् ।