कैलाली, १५ असार / मातृभूमि लघुबित्त बित्तीय संस्था लिमिटेडको अस्नेहरी र दुर्गौली शाखाले आफ्ना ग्राहक सदस्यहरूलाई लक्षित गरी एक दिने वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कैलालीको टिकापुर नगरपालिका–स्थित टिकापुर सिटी इन हलमा आयोजना गरिएको हो।
कार्यक्रममा टिकापुर नगरप्रमुख रामलाल डगौरा थारू प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिका रूपमा वडा नं. ४ का अध्यक्ष लालविर चौधरी, संस्थाका सहायक महाप्रबन्धक लोकमणि रेग्मी, जोखिम व्यवस्थापन तथा असुली विभाग प्रमुख टिकाराम उपाध्याय, र अनुगमन कार्यालय बलिया कैलालीका प्रमुख मछिन्द्र बहादुर शाही सहभागी थिए। कार्यक्रममा सभाध्यक्षको भूमिका बिमला देवी थापाले निर्वाह गरेकी थिइन्।
कार्यक्रमको संचालन अस्नेहरी शाखा प्रमुख सुरेश बमले गरेका थिए भने स्वागत मन्तव्य टिकाराम उपाध्यायले राखेका थिए।
नगरप्रमुख र वडा अध्यक्षले लघुवित्तको महत्व, वर्तमान अवस्था तथा समसामयिक आर्थिक विषयहरूमा आफ्ना धारणा प्रस्तुत गरे। त्यसक्रममा शाखा प्रबन्धक सुरेश बम र पदमराज शर्माले शाखाको आर्थिक विवरण तथा सफलताको कथा प्रस्तुत गरे।
संस्थाका सहायक महाप्रबन्धक लोकमणि रेग्मीले सहभागी सदस्यहरूलाई बचत, कर्जा, बीमा, वित्तीय विश्लेषण लगायत विषयमा जानकारी दिएका थिए। साथै, संस्थाले उपलब्ध गराउँदै आएको सेवा-सुविधाहरूको बारेमा समेत प्रस्ट पारिएको थियो।
कार्यक्रममा दुबै शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले सहभागी सदस्यहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै संस्था र सदस्यबीचको सम्बन्ध बलियो बनाउन सहयोग पुर्याएको आयोजकले जनाएको छ।