धनगढी, १३ असार / कैलाली प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा दुई जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ। ठगी गर्दै ठूलो रकम असुलेको अभियोगमा पक्राउ परेका ती व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ का ३६ वर्षीय तपेन्द्र बिक्रम विष्ट र ४७ वर्षीय दिपक साउद रहेका छन्। कैलाली प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ क्षेत्रबाट नियन्त्रणमा लिएको बताए । प्रहरीले औपचारिक रुपमा उनीहरुलाई धनगढीबाट समातिएको बताएपनि भारतबाट पक्राउ गरिई गएराति कैलाली ल्याइएको हो।
प्रहरीले बताएको अनुसार, दुवै विरुद्ध वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ। अहिले उनीहरूलाई विभागमा बुझाउने तयारी भइरहेको छ।