धनगढी,१२ असार / लागू औषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा कैलालीको धनगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ। ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ असार १२ गते बिहान धनगढी चौराहादेखि पार्कमोडसम्म प्रभातफेरी निकालिएको हो।
प्रभातफेरी कार्यक्रम जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा तथा सामाजिक विकास कार्यालय कैलालीको समन्वयमा भएको थियो । कार्यक्रमले युवा जमातमा बढ्दो लागूऔषध सेवनले गर्दा समाजमा परेको नकारात्मक प्रभावलाई औँल्याउदै युवालाई कसरी सचेत र सजग गर्ने भन्ने विषयलाई प्राथमिकता दिएको थियो।
कार्यक्रममा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की , प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) प्रहरी उपरीक्षक बाल नरसिंह राणा, धनगढीका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी , नागरिक समाज, पत्रकार लगायत सरोकारवाला सबैको उल्लेख्य उपस्थिति रहेको थियो।
सप्ताहव्यापी रुपमा २० जुनदेखि २६ जुनसम्म मनाइने यस दिवसको अन्तिम दिनका रूपमा प्रभातफेरी आयोजना गरिएको हो।
कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्ला प्रशासनले समाजमा लागू औषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन यसप्रकारका सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन।