धनगढी,११ असार । कैलालीको दुई वटा पालिकालाई आज पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।
कैलारी गाउँपालिका र गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। कैलारी गाउँपालिकाको नौ वटै वडामा रहेका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेर खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका अध्यक्ष टीका चौधरी भुलले पूर्ण खोप सुनिश्चितता एवम् दिगोपना घोषणा गर्नुभयो।
पूर्ण खोप सुनिश्चितताको अवस्था ल्याउन महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी र सरोकारवाला निकाय अहोरात्र खटेको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताउनुभयो।
यस्तै, गोदावरी नगरपालिकामा पनि खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
स्वास्थ्यकर्मीको अथक प्रयासले पूर्ण खोप सुनिश्चित पालिका बनाउन सफल भएको समितिका संयोजक एवम् नगर प्रमुख वीरेन्द्र भट्टले बताउनुभयो। उहाँले अझै जुझारु र संवेदनशील भएर काम गर्न स्वास्थकर्मीलाई निर्देशनसमेत दिनुभएको छ।