धनगढी, असार १० । कैलालीको चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ५२ करोड ८७ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको हो। गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपाध्यक्ष धनादेवी थापाले पनि सोही आधारमा बजेट प्रस्तुत गरेकी हुन्।
बजेटअनुसार चालु खर्चतर्फ ३७ करोड २२ लाख ५८ हजार पाँच सय रुपैयाँ अर्थात् ७० दशमलव ०४ प्रतिशत र पुँजीगत खर्चतर्फ १५ करोड ६५ लाख ३८ हजार पाँच सय रुपैयाँ अर्थात् २९ दशमलव ६ प्रतिशत रकम विनियोजन गरिएको छ।
बजेट स्रोतको विवरण अनुसार संघीय सरकारबाट समानीकरण अनुदान वापत १० करोड ४४ लाख, संघीय राजस्व बाँडफाँडबाट १४ करोड ६८ लाख, संघीय समपूरक अनुदानबाट ७१ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ५४ लाख, संघीय विशेष अनुदानबाट ८० लाख प्राप्त हुने उल्लेख गरिएको छ।
त्यसैगरी प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४१ लाख ५३ हजार, समानीकरण अनुदानबाट ८४ लाख ९४ हजार, सशर्त अनुदानबाट ५५ लाख, समपूरक अनुदानबाट १ करोड, आन्तरिक राजस्व बाँडफाँडबाट १ करोड ९४ लाख ५० हजार र चालु वर्षको मौज्दात रकम ७५ लाख रहने अनुमान गरिएको छ।
गाउँपालिकाले बजेटमार्फत विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ।