धनगढी, ७ असार / सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भन्सार छलि गरिएका सामग्री प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भित्र्याइएका ती सामानहरू बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–२ स्थित कलेज नजिकैबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरिएका गाडी तथा ट्रकका पार्टपुर्जा लगायतका सामग्री फेला परेका छन्।
अन्दाजी ४६ हजार ६सय २ बराबरका ती सामानहरू अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित भुजेलबाट पनि भन्सार छलि गरेर ल्याइएका सामग्री फेला पारिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी मूल्य १ लाख ५ हजार ३ सय ५० बराबरको बिजुली उपकरण, हार्डवेयर सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार दुबै घटनामा बरामद भएका सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया थालिएको छ। भन्सार छलि र अवैध व्यापारविरुद्ध निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।