धनगढी, ६ असार / धनगढीस्थित जिल्ला कारागारमा मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिसिंह पालीका परिवारजनले पाँच दिनपछि शव बुझेका छन् पालीको मृत्यु रहस्यमय परिस्थितिमा भएपछि उनका आफन्तले कारागारभित्र कुटपिट गरी हत्या गरिएको दाबी गरेका थिए। मृतककी पत्नी जानकी साउँदले प्रहरी सई हरजीत नाथविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार शव पोस्टमार्टमपछि शुक्रबार बिहान पालीका परिवारले बुझेका हुन्।
सई नाथ न केवल प्रहरी अधिकारी थिए, उनी मृतक पालीविरुद्ध दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादीसमेत थिए। सोही मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० साल फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
मृतककी श्रीमतीले सुरुमा कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी सच्याउन भनेपछि अन्ततः सई नाथविरुद्ध मात्र जाहेरी दिइएकी थिइन्।
घटनाको सिलसिलामा पालीलाई २९ जेठमा पक्राउ गरिएपछि ३० गते कारागारमा ल्याइएको थियो। असार १ गते अदालतको आदेशमा उनलाई जेल चलान गरिएको थियो। तर असार २ गते राति साढे १० बजे बाथरुम नजिक अचेत अवस्थामा फेला परेका उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको घोषणा गरिएको थियो।
पालीकाको शरीरमा चोटपटक देखिएको भन्दै परिवारले योजनाबद्ध हत्या भएको आरोप लगाउँदै आएका छन्।
यही घटनाको थप अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।