काठमान्डौं , ५ असार / मकवानपुरमा देवरले भाउजू नाता पर्नेको वीभत्स हत्या गरेका छन्। बिहीबार दिउँसो सवा २ बजेतिर थाहा नगरपालिका-१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए।
उनका अनुसार देवर नाता समेत पर्ने छिमेकमै बस्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका हुन्।
‘खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ,’ एसपी खड्काले भने, ‘घटनापछि देवर फरार भएका थिए।’ घटनाको खबरपछि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।
प्रहरीले थाहा नगरपालिका-३ स्थित थानाबजारबाट आरोपी जीवन गोपालीलाई साढे ३ बजे खुकुरीसहित नियन्त्रणमा लिएको छ। उनीमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको छ।